Map of Nepal

Map of Nepal

Wednesday, March 23, 2011

खस्कँदो सेयरबजारको आर्थिक प्रभाव


खस्कँदो सेयरबजारको आर्थिक प्रभाव (कान्तिपुर)


प्रकाशकुमार श्रेष्ठ

चैत्र ९ - दु ई वर्षअगाडि उर्लेको सेयरबजार अहिले दैनिक तल झर्ने क्रमले गर्दा धेरै लगानीकर्तालाई चिन्ताको विषय भएको छ । शान्ति प्रक्रिया सुरु भएपछि पछिल्लोपटक २०६३ मा बढ्न थालेको नेपालको सेयरबजार, २०६५ भदौ १५ गते उच्च विन्दुमा -नेप्से सूचकांक ११७५) पुगी घट्न थाल्यो जुन अझै कायम छ । अहिले नेप्से सूचकांक ३९० भन्दा तल झरेको छ । यसको कारण र आर्थिक प्रभावको समसामयिक विश्लेषण गरी नीतिगत निर्णय हुनुपर्ने देखिन्छ ।

शान्ति प्रक्रियाको सुरुवातसँगै नेपालमा राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरी लगानीकर्ताहरू सेयरबजारतर्फ लागे । यही बेला बैंक तथा वित्तीय क्षेत्रको विस्तार तीव्रत्तर भयो । अन्य क्षेत्रमा लगानीको सम्भावना नरहेकाले बैंक तथा वित्तीय संस्थाहरूले पनि सेयर खरिद गर्न सेयरको धितोमा यथेष्ट कर्जा प्रभाह गरे । यसै समयमा बढ्दै गएको विप्रेषण आप्रवाहले गर्दा बैंकिङ क्षेत्रमा अत्यधिक तरलता ल्याएकाले पनि सस्तो ब्याजदरमा कर्जा उपलब्ध भयो । यही न्यून ब्याजदरले गर्दा बैंकमा रकम राख्नुभन्दा सेयर खरिद गर्नु फाइदाजनक देखियो । सेयरबजारप्रति एक किसिमको उत्साह र जागरण आयो । यस क्रममा केही चलाख लगानीकर्ताहरू करोडौं कमाउन सफल पनि भए ।

२०६३ चैतमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि न्यूनतम चुक्ता पुँजी दोब्बर वृद्धि गर्ने निर्देशनले हकप्रद र बोनस सेयर पाइने देखेर पनि लगानीकर्ता बैंक तथा वित्तीय संस्थाको सेयर खरिद

गर्न हौसिए ।

नेपालको सेयरबजार अनौठोखालको छ । सेयरबजार पुँजी परिचालन गर्ने बैंकिङ क्षेत्रको विकल्पका रूपमा रहनुपर्ने हो । तर नेपालको सेयरबजारमा बैंक तथा वित्तीय क्षेत्रकै बाहुल्य छ । उदाहरणका लागि २०६७ पुस मसान्तमा सेयरबजारमा सूचीकृत १९५ वटा कम्पनीमा १६५ वटा -८५ प्रतिशत) बैंक तथा वित्तीय संस्थाहरू नै छन् । यस किसिमकोे हाम्रो सेयरबजार उकालो चढ्दा पनि यसले नेपालको वास्तविक आर्थिक स्थितिलाई प्रतिबिम्बित गरेको थिएन भने ओरालो झर्दा पनि वास्तविक क्षेत्रमा भद्रगोल नै ल्याएकोे स्थिति छैन । लम्बिँदै गएको राजनीतिक अन्योलले र सुधि्रन नसकेको शान्ति सुरक्षाले गर्दा आफैं नेपाली अर्थतन्त्र पहिलेदेखि नै जकडिएको छ ।

राष्ट्र बैंकले २०६५ सालमा मार्जिन कर्जामा गरेको कडाइ, सोही समयमा विश्वव्यापी वित्त संकटले गर्दा विप्रेषण आप्रवाहको वृद्धिमा आएको कमी र आयातमा भएको तीव्र वृद्धिले गर्दा तरलतामा आएको अभावले सेयर खरिद गर्न सहज कर्जा उपलब्ध हुन छोडेपछि सेयरको माग घट्न थाल्यो । गन्जागोल राजनीतिक परिवेश र समयमा संविधान जारी हुन नसकिरहेको अवस्था त छँदै छ । सेयरको बढ्दो मूल्यलाई मध्यनजर राख्दै यसको कारोबारमा पँुजीगत लाभ कर लगाइयो भने स्वयं आयकर घोषणालाई कडाइसाथ लागू गरियो । यी सबै कारणले सेयरको माग घटायो ।

यसै समय सेयरको आपूर्तिमा भने बढ्योे । नेपाल टेलिकम र कृषि विकास बैंकले ठूलो मात्रामा प्राथमिक सेयर जारी गरे । नयाँ बैंक तथा वित्तीय संस्थाहरू स्थापना हुने र सेयर जारी गर्ने क्रम पनि रह्यो । बैंक तथा वित्तीय संस्थाहरूको ७० प्रतिशत संस्थापक सेयरमध्ये १९ प्रतिशत साधारण सेयरमा परिणत गर्न सक्ने प्रावधानले पनि साधारण सेयरको प्रवाह बढ्न गयोे । यी सबै माग र आपूर्तिका कारणहरूले समग्र रूपमा सेयरबजारलाई ओरालो लगायो ।

सेयरबजारमा उत्पादन तथा सेवामूलक कम्पनीहरूको उपस्थिति न्यून रहेको र सेयरबजारमार्फत पँुजी परिचालन हुन नसकिरहेको अवस्था

छ । केही वर्षदेखि राजनीतिक अन्योल र अस्थिरताले गर्दा सदैव कमजोर रहेको नेपाली अर्थतन्त्रलाई अहिलेको खस्कँदो सेयरबजारले आफैं समष्टिगत रूपमा खासै असर पारेको र पार्ने देखिँदैन । तर पनि तीव्रदरमा घटेको सेयरबजारले केही क्षेत्रमा भने पक्कै धक्का दिएको र दिन सक्ने देखिन्छ ।

खासगरी केही लगानीकर्ताहरूको सेयरबजारबाट छिट्टै धनी हुने सपनामा चोट पुगेको छ । सेयरबजार वास्तवमा सट्टेवाजहरू पनि चलखेल गर्न सक्ने प्रमुख थलो हो । सेयरबजारमा आउने अथवा ल्याइने अनावश्यक उतारचढावबाटै केही टाठाबाठाहरूले फाइदा लिने मौका पाउँछन् । दुई वर्षअगाडि सेयरको मूल्य बढ्दा केही सीमित व्यक्तिहरूले फाइदा लिँदै धेरै सर्वसाधारणलाई लोभ्याउन सफल भए । अहिले सेयरबजार झर्दा खासगरी घाटा बेहोर्ने चाहिं पछिल्लोचोटि सेयरबजारमा प्रवेश गर्ने सर्वसाधारण नै बढी मात्रामा रहेको हुनुपर्छ । घरजग्गा बिक्री गरेर र विदेशमा कमाएको पैसा सजिलै दोब्बर पार्न देखासिखी गर्दै सेयरबजार प्रवेश गरेका नवसिकारु नै अहिले बढी प्रताडित भएको उदाहरण पाइएको छ ।

सानो भईकन पनि छोटो समयमा सेयरबजारमा देखिएको उतारचढावले गर्दा नेपालको सेयरबजारको वास्तविक विकासमा नराम्रो धक्का लाग्ने देखिन्छ । उत्पादन तथा सेवामूलक उद्योगधन्दाहरूको विकास तथा विस्तारका लागि पँुजी परिचालन गर्ने सशक्त माध्यमका रूपमा विकसित हुनुपर्ने सेयरबजार अहिलेको उधोगतिले नराम्ररी प्रभावित हुने देखिएको छ ।

सेयरबजार खस्कँदै जाँदा सेयरबजारतर्फ हुने लगानी अन्यत्र मोडिने हुन्छ । सेयरबजार खस्केकाले नै घरजग्गा र आवासीय घर तथा व्यावसायिक भवनतर्फ लगानी तथा बैंक कर्जा बढ्न गएर घरजग्गाको मूल्य अकासिन गयो । घरजग्गाको मूल्यवृद्धिले वित्तीय अस्थिरता ल्याउन सक्ने सम्भावनालाई मध्यनजर राख्दै गएको आर्थिक वर्ष २०६६/६७ मा राष्ट्र बैंकले घरजग्गा कर्जाको सीमा घटाएर कडाइ गर्‍यो ।

सेयरबजार ओरालो लाग्दा अर्को प्रभावका रूपमा सुन आयात बढेको देखियो । आर्थिक वर्ष २०६६/६७ मा ऐतिहासिक रूपमा रु. ४२ अर्बको सुन आयात भयो । सुनको मूल्य बढिरहेकाले उक्त सुन आयातको केही अंश लगानीका लागि भएको हुन सक्छ । उच्च सुन आयातले गर्दा शोधनान्तर घाटामा गयो । यसलाई रोक्न सुनको आयातमा कडाइ

गरियो भने मौदि्रक नीति पनि कडा पारियो । फलस्वरूप, ब्याजदर बढ्यो र सेयरबजारमा लगानी थप घट्यो ।

सेयरबजारको मूल्यमा कमी आउँदा सेयरहोल्डरहरूको सम्पत्तिमा ह्रास आई मागमा कमी आउने सम्भावना पनि रहन्छ । तर, नेपालमा माग बढ्दा आन्तरिक उत्पादित वस्तु खासै नबढ्ने हुँदा बरु सेयरबजारको ह्र्रासले आयात घटाउन सहयोग पुग्ने देखिन्छ । तर, कुल सम्पत्तिमा सेयरको अंश खासै ठूलो नभएको अवस्थामा यस किसिमको सम्पत्ति प्रभाव त्यति सशक्त नहुन सक्छ । सेयरमूल्य लगातार झर्दै जाँदा लगानीकर्ता हतोत्साही भई अप्रत्यक्ष रूपमा पुँजी पलायन बढ्ने देखिएको छ ।

सेयरबजारमा मूल्य उच्च रूपमा बढ्नु र घट्नु राम्रो होइन, तर सेयरबजार, खासगरी दोस्रो बजारमा हुने उतारचढावबाट नै कसैले आम्दानी गर्ने गर्छन् । त्यसैले टाठाबाठा सेयर लगानीकर्ताले सेयरबजारमा आफ्नो अनुकूल सेयर मूल्यलाई तलमाथि गराउन उद्यत भइरहने हुँदा नै विश्वभरिकै सेयरबजार स्थिर रहने गरेको पाइँदैन । पछिल्लो समयमा प्रवेश गरेका त्यसमा पनि ऋणमा सेयर खरिद गरेका सेयर लगानीकर्ताहरू आतिएको अवस्था र मूल्य ज्यादै न्यून भइसकेको हुँदा केही चनाखा सेयर लगानीकताहरूले यस अवस्थाको पुनः फाइदा लिने गरी सेयरबजारलाई उकास्ने सम्भावना पनि छ । तर यसका लागि राजनीतिक परिदृश्यमा केही सुधारको संकेत चाहिं देखिनुपर्छ ।

अन्तमा, पुँजी परिचालनको सशक्त माध्यमका रूपमा विकास हुन सक्ने हुनाले सेयरबजारलाई भताभुंग हुन भने दिनु हँुदैन । मार्जिन कर्जामा केही खुकुलो पार्दै, गैरआवासीय नेपालीलाई सेयरबजार खोल्दै, उत्पादनमूलक उद्योगधन्दालाई सेयरबजार प्रवेश गराउँदै जाने नीति लिई यसको कार्यान्वयन गर्नुपर्ने देखिन्छ । मुख्यतः राजनीतिक स्थिरता कायम भई आर्थिक गतिविधि बढ्दै गएमा सेयरबजार केही समयमा नै उकालो लाग्न सक्छ ।

लेखक न्युयोर्कस्थित न्यु स्कुल अफ सोसल रिसर्चमा विद्यावारिधि गर्दै छन् ।

प्रकाशित मिति: २०६७ चैत्र ९ ०८:५७

No comments:

Post a Comment