Map of Nepal

Map of Nepal

Wednesday, August 31, 2011

अस्थिर राजनीति र स्थिर विनिमय दर

नेपालको राजनीतिक अस्थिरताले सबै वाक्क भएको स्थिति छ । वि.सं. २०५२ सालदेखि नै राजनीति अस्थिर छ । यो अस्थिरताको टुंगो लाग्ने संकेत देखिँदैन । त्यस्तै नेपालमा मूल्य पनि अस्थिर र उच्च छ । अनि आर्थिक वृद्धिदर पनि अस्थिर र न्यून छ । तर, यही अस्थिरतामा एउटा कुरा भने स्थिर छ । त्यो हो नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको विनिमय दर । २०४९ सालदेखि यो स्थिर रहेको छ- एक सय भारतीय रुपैयाँ बराबर एक सय साठी नेपाली रुपैयाँ ।

यदि सो अवधिमा विनिमय दर स्थिर भएझैं नेपालको राजनीति पनि स्थिर भइदिएको भए सायद नेपाल दक्षिण एसियामा समृद्ध देश भइसक्ने थियो । यसरी हुनुपर्ने कुरा स्थिर भएन तर समयअनुसार परिवर्तन भइरहनुपर्ने कुरा स्थिर भइरहेको छ । यसले गर्दा आर्थिक क्षेत्र निस्साएकिो छ । सीधा सम्बन्ध नदेखिए पनि कतै स्थिर विनिमय दरले राजनीतिक अस्थिरता बढाएको त होइन ? यदि बजारमा आधारित विनिमय दर हुँदो हो त राजनीतिक नौटंकी र आर्थिक गतिहीनता विनिमय दरमा प्रतिबिम्बित हुने थियो । जसले गर्दा कतै राजनीतिका हर्ताकर्ताले अर्थतन्त्रतर्फ सोच्न बाध्य भई राजनीतिक नौटंकीमा केही कमी आउँथ्यो कि ।

नेपालको विनिमय दरको इतिहास हेर्ने हो भने २०१७ सालसम्म भारतीय रुपैयाँसँगको विनिमय दर बजार निर्धारित थियो । तर, त्यतिखेर सरकारी राजस्वसमेत भारतीय मुद्रामा संकलन गर्ने गरिन्थ्यो । यस्तो अवस्थामा नेपाली मुद्राको प्रचलन बढाउने उद्देश्यले २०१७ सालमा भारतीय रुपैयाँसँग स्थिर विनिमय दर तोकियो । त्यतिखेर तोकिएको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर र अहिलेको विद्यमान विनिमय दर एउटै छ ।

२०१७ सालपछि भारतीय रुपैयाँसँगको विनिमय दरलाई पटकपटक परिवर्तन गरिएको छ । २०२३ सालमा झन्डै नेपाली रुपैयाँ भारतीय रुपैयाँ बराबर थियो- एक सय भा.रु. बराबर एक सय एक नेपाली रुपैयाँ । तर, यो दर धेरै समय टिकेन, डेढ वर्षपछि नै नेपाली रुपैयाँलाई अवमूल्यन गर्न थालियो । पटकपटक अवमूल्यन गर्दै जाँदा २०४२ सालमा विनिमय दर एक सय भा.रु. बराबर १६८ ने.रु. थियो । यहाँसम्म अवमूल्यन गर्दै आइएकामा २०४८ मा नेपाली रुपैयालाई पुनर्मूल्यन गरी भा.रु. एक सय बराबर ने.रु. १६५ बनाइयो । खास गरी यो समयमा भारतमा भुक्तान सन्तुलन घाटामा गएको थियो र भारतले भारतीय मुद्रालाई अन्य मुद्रासँग उल्लेख्य मात्रामा अवमूल्यन गरेको थियो ।

बाह्य क्षेत्रको उदारीकरण गर्ने सिलसिलामा २०४८ फागुन २१ गते चालु खातालाई आंशिक परिवत्र्य बनाइयो । यसको झन्डै एक वर्षपछि २०४९ -१९९३ मार्च) माघ २ गते चालु खातालाई पूर्ण परिवत्र्य बनाइयो र नेपाली रुपैयाँलाई थप पुनर्मूल्यन गरी एक सय भा.रु बराबर एक सय साठी कायम गरियो । तत्पश्चात् भने विगतमा सक्रिय रहेको नेपालको विनिमय दर नीति निष्त्रिmय रहँदै आएको छ । यसरी विनिमय दरलाई नचलाइराखेको १९ वर्ष भइसक्यो । यो समयमा झन्डै बर्सेनि सरकार फेरिए तर विनिमय दर फेरिएको छैन ।

विनिमय दर स्थिर हुनुलाई सीधा रूपमा नराम्रो ठान्नुपर्ने देखिँदैन । त्यसमा पनि नेपालको आर्थिक हैसियत र व्यापार संरचनालाई हेर्दा बजार निर्धारित विनिमय दर आत्मसात् गर्ने आत्मबल आइसकेको देखिँदैन । तर पनि वास्तविक विनिमय दरलाई स्थिर राख्ने गरी बजारमा प्रयोग हुने विनिमय दरलाई समयानुकूल परिवर्तन गरिनुपर्ने हो । तर, त्यसो हुन सकिराखेको छैन ।

अरू केही स्थिर नभए पनि विनिमय दर त स्थिर छ । यसले के बिगारेको छ भन्ने प्रश्न उठ्न सक्छ । तर, यति लामो समयसम्मको भा.रु. सँगको स्थिर विनिमय दरले केही नकारात्मक असर पारेको छ । भा.रु. सँगको स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँको अन्य विदेशी मुद्रासँगको विनिमय दरमा अनावश्यक उतारचढाव भइरहेको छ । यसले गर्दा नेपालको तेस्रो मुलुकसँगको बाह्य कारोबार प्रभावित भई बाह्य व्यापार भारतमुखी हुँदै गएको छ । अझ मुख्य कुरा त, नेपालको वास्तविक विनिमय दर अधिमूल्यित भएको छ । यसले गर्दा निर्यात नराम्री प्रभावित भएको छ । हुन त, राजनीतिक अस्थिरता र ऊर्जाको अभाव पनि प्रभाव पार्ने कारक हुन् तर तथ्यांकलाई हेर्दा नेपालको निर्यात र वास्तविक विनिमय दरबीच सीधा सम्बन्ध देखिन्छ ।

२०४९ साललाई आधार मान्दा २०५९ सम्म नेपालको भारतीय रुपैयाँसँगको वास्तविक विनिमय दर न्यून मूल्यित हुँदै गएको थियो । सो अवधिमा निर्यात पनि सुधार हुँदै गई २०५७/५८ मा कुल गार्हस्थ्य उत्पादनको १४.१ प्रतिशत पुगेको थियो । तत्पश्चात् नेपाली रुपैयाँको भा.रु. सँगको वास्तविक विनिमय दर अधिमूल्यित हुन थालेपछि निर्यात क्रमशः खस्कँदै गएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ मा नेपालको निर्यात कुल गार्हस्थ्य उत्पादनको ५.२ प्रतिशतमा झरेको छ । यसै अवधिमा नेपालले विश्व व्यापार संगठनलगायत साफ्टा र बिमस्टेकको सदस्यता लिएको छ ।

व्यापारका लागि सहयोग कार्यक्रम सञ्चालन गरी वैदेशिक सहायतामा निर्यात व्यापार बढाउन ठूलठूला चिल्ला प्रतिवेदनहरू पनि तयार पारिएका छन् । तर, निर्यात व्यापार भने खस्कँदै छ र व्यापार घाटा बढ्दो छ ।

निर्यात प्रबर्द्धनका माध्यमबाट चीनलगायत पूर्वी एसियाली देशहरू आर्थिक वृद्धि बढाउन सफल भइरहेका छन् । यसका लागि उनीहरूले विनिमय दर नीतिलाई चनाखोपूर्ण ढंगले प्रयोग गरिराखेका छन् । अमेरिकी धम्कीका बाबजुद पनि चीनले आफ्नो मुद्रा अधिमूल्यन हुन दिइराखेको छैन । भारत पनि यसतर्फ चनाखो छ । तर, नेपालले भने विनिमय दर नीतिलाई बेवारिसे रूपमा निष्त्रिmय छाडेेको छ ।

विनिमय दर अधिमूल्यित हुन जाँदा निर्यात नकारात्मक रूपमा प्रभावित भई समग्र आर्थिक वृद्धिदर खस्कन जान्छ । आर्थिक वृद्धिदर कम हुँदा रोजगारीका अवसरहरू घट्न जान्छन् । अहिले नेपालमा यही भइरहेको छ । नेपालमा रोजगारी पाउन कठिन छ । यसले गर्दा वैदेशिक रोजगारी मात्र नेपालीको बाँच्ने आधार भएको छ । पराम्परादेखि मुग्लान पस्न बानी परेका हामी नेपालीलाई मध्यपूर्व र पूर्वी एसियाली देशहरूको आर्थिक सम्पन्नताले कम्तीमा जिउने आधार प्रदान गरेको छ ।

वास्तवमा बर्सेनि ३ देखि ४ लाख युवा जनशक्ति वैदेशिक रोजगारीमा गएर मात्र अहिलेको भा.रु. सँगको स्थिर विनिमय दर यति लामो समय टिकेको हो । विप्रेषण आप्रवाहले भुक्तान सन्तुलन थामेकाले नै एउटै स्थिर विनिमय दर यति लामो समयसम्म रहेको हो । विप्रेषण आप्रवाह अलिकति प्रभावित हुनासाथ गत वर्षदेखि भुक्तान सन्तुलन घाटामा गएको छ । यसलाई सुधार गर्न आयातमा नियन्त्रणदेखि मौदि्रक नीतिलाई कडा पारिएको छ । यसको प्रभाव वित्तीय क्षेत्रमा नकारात्मक रूपमा देखा परिसकेको छ ।

अन्तमा, सधैं गोलचक्कर लगाइरहने नेपालको राजनीति तथा सरकार र नीतिगत विश्लेषणलाई ओझेलमा पारिराखेको व्यवस्थापनमुखी केन्द्रीय बैंकले तत्काललाई विनिमय दर नीतितर्फ ध्यान दिने देखिँदैन । त्यसैले, नेपालीका लागि बढ्दो व्यापार घाटा, भुक्तान सन्तुलनमा चाप र त्यसमा पनि मुख्य गरेर बढ्दो बेरोजगारी बेहोर्नुको विकल्प छैन ।

प्रकाशित मिति: २०६८ भाद्र १४ ०९:२९ kantipur

No comments:

Post a Comment