विकासका बाधक
नौ बित्ताको बाटोमा नौ तले घर बनाउने र सडकमा फोहोर फालेर घरभित्र सफा राखेपछि सम्भ्रान्त भइने संस्कृति सर्वत्र छ ।
कान्तिपुर बैशाख १ ० गते
नेपालको आर्थिक विकास कछुवाको गतिमा भइरहेको छ । त्यसैले नेपाल अति कम विकसित देशहरूको सूचीमा छ । पश्चिमा विकसित देशहरूसँग तुलना गर्ने हो भने १७ औं १८ औं शताब्दीमा तिनीहरूको स्थिति जस्तो थियो, नेपालको हालको स्थिति करिब त्यस्तै छ ।
२००७ सालपछि विभिन्न राजनीतिक परिवेशमा विकासका केही पहल भए पनि समयको माग र जनसंख्या वृद्धि बमोजिम हुनसकेको छैन । वास्तवमा नेपालको एकीकरणपछि आर्थिक विकासले गति नसमात्दा नेपाल झन्डै २-३ सय वर्ष पछाडि परेको अवस्था छ । नेपालले विकसित देशको हालको स्तर हासिल गर्न दगुरेर मात्र नपुगी उड्नुपर्ने स्थिति छ । तर न हिजो इतिहासले नेपालको आर्थिक विकास गर्यो, नत अहिलेको वर्तमानले गर्नसक्ने देखिएको छ । सरकारी एवं गैरसरकारी संस्था र विदेशी दातृराष्ट्रले विकासको खेती गरे पनि विकासे भ्यागुतो खासै उफ्रिनसकेको छैन । नेपालले विविध खाले राजनीतिक परिवेश भोगिसक्यो । एक सय चारवर्षे जहानियाँ राणाशासन र तीसवर्षे पञ्चायती व्यवस्थामा राजनीतिक स्थिरता थियो ।
पञ्चायती व्यवस्था ढलेपछि नेपाल राजनीतिक अस्थिरताको चरणबाट पार भइरहेको छ । त्यसैले धेरैले अविकासको मुख्य कारण राजनीतिक अस्थिरतालाई औंल्याउने गर्छन् । यसैको बहानामा आफ्नो जिम्मेवारी र दायित्वबाट पन्छिने प्रवृत्ति बढेेको छ । पश्चिमा विकसित देशहरू लगायत एसियाका नवउदीयमान देशहरू पनि इतिहासको कालखण्डमा राजनीतिक उतार-चढावबाट पार भएकै हुन् । तर सोही समयमा नै आर्थिक विकासका आधारहरू सिर्जना गर्न सफल भए । यसलाई हेर्दा राजनीतिक स्थिरताले आर्थिक विकास ल्याउँछ कि आर्थिक विकास भयो भने राजनीतिक स्थिरता आउँछ भन्ने कुरा बहसको विषय हुनसक्छ । राजनीतिक एउटा पाटो हो, तर आर्थिक विकास हुन नसक्नुका कारणहरू अलि बृहत रूपमा हेर्नुपर्ने हुन्छ । खासगरी सामाजिक र सांस्कृतिक पाटोतर्फ पनि केलाउनु उपयुक्त हुने देखिन्छ । यसतर्फ कम ध्यान पुगेको देखिन्छ । हाम्रो सामाजिक परिवेश, मूल्य र मान्यता तथा संस्कृति पनि केही हदसम्म विकासको बाधकका रूपमा रहेको छ भन्दा अत्युक्ति नहोला । देशको राजनीति, शासन, प्रशासन, नेताहरू, कर्मचारीहरू विद्यमान सामाजिक संरचना, मूल्य र मान्यताकै उपज हुन् । त्यसैले होला, राजनीतिमा एकपछि अर्को परिवर्तन आए पनि आर्थिक विकासले आशातीत गति लिनसकेको छैन । प्राकृतिक रूपमा युरोपमा जन्मिएको मान्छे र नेपालजस्ता अल्पविकसित देशमा जन्मिएको मान्छेबीच भिन्नता नभए पनि विचार, संस्कृति र सामाजिक परिवेशमा ठूलो भिन्नता छ । युरोप र अमेरिकाको विकास मान्छेले नै गरेका हुन्, भगवानले होइनन् । भगवानले गर्ने भए ती देशहरूमा भन्दा धेरै भगवानहरू हामीकहाँ छन् । आर्थिक विकासका लागि उत्पादनको शैली र सामाजिक रूपान्तरणको आवश्यकता हुन्छ । आधुनिक प्रविधिको प्रयोगको जरुरत पर्छ ।
परम्परागत कुटी-कोदाली गरेर आधुनिक विकास सम्भव छैन । त्यस्तै उद्योगधन्दाको विकास र विस्तार भई आर्थिक संरचनामा पनि परिवर्तन आउनुपर्छ । उत्पादकत्व बढ्दै गएमा नै आम्दानी र सम्पत्ति सिर्जना हुने हो । तर नेपालमा ऊर्जा, सिंचाइ, आधुनिक प्रविधि र काम गर्ने वातावरणको अभावमा उत्पादकत्व घट्दै गएको छ । जगंबहादुरले बेलायत घुमेर फर्केपछि युरोपियन शैलीमा आफ्ना दरबार बनाए पनि राणाहरूले नेपाललाई विश्व परिवेशबाट अछुतो राखे । तर अहिले विश्वसँग खुला हुँदा पनि आर्थिक विकास धिमा गतिमा नै छ । त्यसैले नेपालका गाउँबस्तीहरूको जीवनस्तर १८ औं शताब्दीतिरकै छ । गाउँमात्र होइन, बजेटको धेरै अंश खर्च गरिएको देशको राजधानी काठमाडौंको दुर्दशाले पनि नेपालको विकासको हैसियत झल्काउँछ । केही सम्भ्रान्त वर्गका टल्किने घर भएर के गर्नु ? पानीको अभाव, बिजुलीको अभाव, इन्धनको अभाव र ढलमा परिणत भएका गन्हाउने वागमती र विष्णुमती नदीले हामी नेपालीको हैसियत र दर्दनाक अवस्था झल्काउँछ ।
राजनीतिमा छिमेकी देशलाई हस्तक्षेप गर्यो भनेर गाली गरे पनि यी आर्थिक दुरवस्थाको लागि कसैलाई दोष लगाउने ठाउँ छैन । यो हाम्रै राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक र मानसिक अवस्थाकै परिणाम हो । राणाकालमा बनेको काठमाडौंको असन त व्यस्थित ढंगले बनेन, हालका दिनहरूमा विस्तार भएको अव्यस्थित सहरीकरणले पनि हामी नेपालीको मानसिक दरिद्रतालाई झल्काउँछ । नौ बित्ताको बाटोमा नौ तले घर बनाउने र सडकमा फोहोर फालेर घरभित्र सफा राखेपछि सम्भ्रान्त भइने संस्कृति सर्वत्र छ । युरोपियनहरू जहाँ-जहाँ कोलोनी बनाउन गए, संँगैसंँगै स्कुलहरू खोल्दै गए । शिक्षाको सहज पहुँचले वैज्ञानिक आविष्कारदेखि अर्थोपार्जनमा वुद्धि-विवेक लगाउन सक्ने भए । तर हामीकहाँ एक्काइसांै शताब्दीमा पनि झन्डै आधा जनसंख्याले कखरा चिन्दैनन् ।
त्यसमा पनि हाम्रो संस्कार र संस्कृतिले महिलालाई शिक्षा हासिल गर्न अझै उत्प्रेरित गर्दैन । अहिले साक्षर भएर मात्र पुग्दैन, व्यावसायिक शिक्षाको सशक्त खाँचो छ । तर केही मात्रामा भएको कोरा शिक्षा पनि राजनीतिको क्रीडास्थल भएको छ । अनि सिधासाधा र अनपढ जनतामाथि नै राजनीति र प्रशासनिक हैकम चलिरहेको छ । प्रशासनिक हैकम र हैरानी हेर्न जनसम्पर्क हुने सरकारी कार्यालयमा गए पुग्छ । जति बढी जनसम्पर्क त्यति बढी व्यक्तिगत खल्ती भरिने गर्छ । कर्म गर्नेलाई सबैभन्दा तल्लो जातिमा राखेर श्रमको अपहेलना हाम्रै धर्मसंस्कृतिमा फस्टाएको छ । भारतमा बाहेक विश्वमा कहीं नभएको मानवीय कलंकको रूपमा रहेको छुवाछूत अझै विद्यमान छ । असल मान्छे होइन, ठूलो मान्छे हुनुपर्ने संस्कृतिले सम्पूर्ण सामाजिक परिवेश र नेपालको राजनीति प्रभावित छ । ठूलो मान्छे हुन कोही भ्रष्टाचार गरेर धन कमाउँछन् त कोही राजनीति गरेर जुँगाको लडाइँ र बलमिचाइ गर्छन् । भ्रष्टाचार तलदेखि माथिसम्मै फैलिएको छ । तल्लो तहको कर्मचारी जीवन धान्नका लागि र माथिल्लो तहका सम्भ्रान्त बन्नका लागि भ्रष्टाचार गरिरहेका छन् । त्यसमा पनि पार्टीगत राजनीतिमा पार्टी खर्च उठाउन माथिल्लो स्तरबाटै भ्रष्टाचार गर्नुपर्ने हुन्छ । त्यसैले कुनै परियोजनाहरू नसकिँदै परियोजनामा संलग्न हुनेहरूको घर तयार हुन्छ । परियोजनाहरू एक त बन्न ढिला हुन्छ, बनिहाले पनि कमसल खालको बन्छ । त्यस्ता संरचनाहरू छोटो समयमा नै धराशायी हुन्छन् । काम, योगदान, व्यवहार र विचारभन्दा पनि पदको सम्मान गर्ने, ठूलो मान्छे बन्न सामूहिकभन्दा पनि एकल नेतृत्वतर्फ उन्मुख हुने संस्कृति र प्रवृत्ति पनि हाम्रै माटोमा छ । विदेशी आयातीत महँगा वस्तुहरूको उपभोगलाई सामाजिक सम्मान दिई स्वदेशी वस्तुलाई हेला गर्ने प्रवृत्ति पनि हाम्रै समाजमा छ ।
त्यसैले आयात रफ्तारले बढेको छ । हामीले वस्तुमात्र होइन, राजनीतिक विचारधारा पनि मनग्यै आयात गरेका छौं । बेलायतको संसदीय प्रणालीको अनुकरणदेखि जर्मनीका माक्र्स, रूसका लेनिन र चीनका माओको विचारहरू पनि आयातीत नै हुन् । त्यही आयातीत विचारका पनि दर्जनौं पार्टी बनाएर सडकमा ताण्डव नृत्य देखाएकै छौं । विचार आयात गरे पनि व्यवहारमा कानुनी राज्यभन्दा पनि जसको डन्डा उसैको भैंसीको प्रवृत्ति र शैली विद्यमान छ । डन्डाको भरमा नै सडक कव्जा गरी बन्द गर्ने संस्कृति मौलाएको छ । त्यसैले न मार्गरेट थ्याचर र रोनाल्ड रेगनको निजीकरण र उदारीकरणले काम गर्यो, नत मालेमाको सर्वहारावादले काम गर्नसकेको छ । हुन त समाजको विकासक्रम यस्तै क्रिया र प्रतिक्रियाबाट नै हुँदै जाने हो । तर आर्थिक विकासले गति लिन नेपालको राजनीतिकमात्र होइन, सामाजिक र सांस्कृतिक पक्षमा पनि आमूल परिवर्तनको आवश्यकता छ । सबैले आफ्नो-आफ्नो भूमिका निर्वाहको खाँचो छ । भोलि होइन आज, तैंले होइन हामी सबैले, कुरा होइन काम र ठूलो होइन असल मान्छे बन्ने संस्कृति नअपनाएसम्म राजनीतिको एकपछि अर्को प्रयोग, सिद्धान्तको बहस, श्रम र पुँजीले मात्र नेपालको हुनुपर्ने विकास हुनसक्ने देखिँदैन ।
Shree Krishna
ReplyDeleteNepal Apr 24, 2013, 5:55 am
लेख राम्रो छ। तर अब हिनताबोध बाट माथि उठ्ने हो कि? हो, कतिपय पक्ष्यमा हामी यक सताब्दी भन्दा पनि पछाडी छौ तर औसत मा भन्नु पर्दा हामी ५० वर्ष भन्दा पछाडी छैनौ। कुनै पनि देशले प्रयोग गरेको प्रबिधि हामीले पनि प्रयोग गरिरहेका छौ। राजनीतिक स्थायित्व भयर उचित आर्थिक नीतिहरु तर्जुमा र कार्यान्बयन गर्यौ भने पचास वर्षमा हामी कुनै पनि देश बराबर सम्पन्न हुन सक्छौ। भौतिक विकास मात्र सबै थोक होइन, सामाजिक विकास पनि हुनु पर्छ, थुप्रै बिकसित देशहरुमा सामाजिक बिचलन ठुलो छ। कतिपय देशको भौतिक विकास कुल गार्हास्थ उत्पादन भन्दा ठुलो ऋण लगानी मार्फत सम्भव भयको हो, कुनै पनि समय ती अर्थतन्त्र धरासायी हुन सक्छन, त्यसकारण हामी हीनताबोध बाट माथि उठेर सन्तुलित रुपमा बिकास गर्दै जानु पर्छ।